समाचार

ट्याक्टर आफैँ गुड्दा बालकको मृत्यु



काठमाडौँ, ३२ असार । प्युठानमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । 

प्रहरीका अनुसार प्युठानको नौबहिनी गाउँपालिका–५ डामृस्थित रोकी राखेको  भे २ त २०१९ नम्बरको ट्याक्टरमा बुधबार खेलिरहेका बेला ट्याक्टर एक्कासि ब्याक भई करिब ४०० मिटर तल खस्दा स्थानीय गंगा घर्ती मगरका सात वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । सोही स्थानका रिमबहादुर बुढाका सात  वर्षीय छोरा पारस बुढा घाइते भएका थिए ।

दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा साँझ साढे ६ बजे चिकित्सकले कुण्डन घर्तीको मृत्यु भएको घोषणा गरेका थिए । अर्का घाइते पारस बुढालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार र ट्याक्टरका मालिकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।