काठमाडौँ, ४ साउन । बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक गएराति भएको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकको बायाँपट्टि रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो ।
दुर्घटनामा ट्रकमा सवार जितपुरसिमरा उपमहानगरपालिका–८ इमलीप्रती निवासी ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा उपचारकै क्रममा राति १२ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।
त्यसैगरी सोही स्थानका ५० वर्षीय देवनारायण चौधरीको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एकतर्फको पर्खाल भत्किएको प्रहरीले जनाएको छ । घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्