समाचार

बिपी राजमार्गमा राति सवारी चलाउन नपाइने



काठमाडौँ, ६ साउन । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, देशका विभिन्न सडकखण्ड पहिरो र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।