Banner News

‘राष्ट्रका लागि २ घण्टा’ अभियानले वातावरणसँगै ‘शिक्षा र स्वास्थ्य’ काम गर्ने



भक्तपुर, ३० साउन । ‘राष्ट्रका लागि २ घण्टा’ अभियान अब केवल सडक सफाइ, फोहोर व्यवस्थापन वा वृक्षारोपणमा सीमित नरही वातावरणीय स्वास्थ्य, स्वस्थ जीवनशैली, व्यवहार परिवर्तन र जिम्मेवार नागरिक निर्माणको अभियानका रूपमा विस्तार गर्ने भएको छ ।

राष्ट्रका लागि २ घण्टा अभियान प्रवर्द्धन केन्द्र नेपालको आयोजनामा शुक्रबार मध्यपुर थिमी–५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यशाला गोष्ठी तथा दोस्रो सत्रको संस्थाको तेस्रो वार्षिक साधारणसभाले वातावरणीय स्वच्छतालाई शिक्षा र स्वास्थ्यसँग जोडेर अघि बढाउने दिशा तय गरेको हो ।

कार्यक्रमको पहिलो सत्रमा ‘स्वास्थ्य प्रवर्द्धनका लागि वातावरणीय स्वास्थ्यको वर्तमान अवस्था, समस्या तथा चुनौती’ विषयमा विषयविज्ञको प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो । दोस्रो सत्रमा संस्थाको वार्षिक प्रगति, अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णय गरिएको थियो ।

पूर्वस्वास्थ्य मन्त्री किरण थापाले वातावरणीय समस्या केवल वातावरण मन्त्रालय वा स्थानीय सरसफाइसँग सम्बन्धित विषय नभई प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको विषय भएको धारणा राख्नुभयो । उहाँले प्रदूषित हावा, अव्यवस्थित फोहोर, दूषित पानी, प्लास्टिकजन्य प्रदूषण, धुलो–धुवाँ तथा जलवायु परिवर्तनका असरले नागरिकको स्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज र समुदायबीचको सहकार्यलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नु भयो, ‘वातावरण प्रदुषण नियन्त्रण गर्न मानिसको दृष्टिकोण नै परिवर्तन गर्न जरुरी छ । वातावरण संरक्षणलाई अभियानात्मक गतिविधिमा मात्र सीमित नराखी नीति, स्वास्थ्य सेवा, शिक्षा र नागरिक व्यवहारसँग जोडेर दीर्घकालीन जनस्वास्थ्य रणनीतिका रूपमा अघि बढाउनु आवश्यक छ । भक्तपुरका जनताले शिक्षा र स्वास्थ्य उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्ने हाम्रो लक्ष्य अनुसार आफु बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएको समयमा कार्यसम्पादन गरेको छु । त्यसको प्रभाव आगामी दिनमा अझ बढि जनताले देख्ने र भोग्न गरी हुनेछ । त्यसैले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्नुपर्छ । जसको लागि तीनवटै तहको सरकार तथा स्थानीयवासीको पूर्ण साथ र समर्थन अपरिहार्य रहेको छ ।’

वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अभियानले स्थानीय तह, विद्यालय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र स्वयंसेवकसँगको समन्वयमा विभिन्न वातावरणीय कार्यक्रम सञ्चालन गरेको छ ।

हरियाली अभियानअन्तर्गत सूर्यविनायक, मध्यपुर थिमीलगायतका विभिन्न क्षेत्रमा करिब १,८०० भन्दा बढी बिरुवा रोपण गरी त्यसको संरक्षण, गोडमेल र नियमित अनुगमनसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ। वृक्षारोपणलाई केवल एकदिने कार्यक्रमका रूपमा नराखी रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा जोड दिनुलाई अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

अभियानले हरेक शनिबार अरनिको राजमार्ग तथा विभिन्न सार्वजनिक स्थलमा नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। यस क्रममा स्वयंसेवक, स्थानीयवासी तथा अभियानकर्मी गरी करिब २,५०० जनाको सक्रिय सहभागितामा ३५ टनभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरिएको प्रतिवेदनले देखाएको छ । चाँगुनारायण मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलको सरसफाइमा समेत अभियानले सहभागिता जनाएको छ ।

यससँगै अभियानले विद्यालयलाई वातावरणीय संस्कार विकासको केन्द्रका रूपमा अघि बढाएको छ। सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमीका विद्यालयमा शिक्षक अभिमुखीकरण, विद्यार्थीका लागि वृक्षारोपण तथा वातावरणीय व्यवहारसम्बन्धी अभ्यास, मल–माटो व्यवस्थापन, तरकारी तथा फूलखेतीलगायतका कार्यक्रम सञ्चालन गरिएको छ । चाँगुनारायण–२ को मित्रश्री पाठशालादेखि मध्यपुर थिमीका विभिन्न विद्यालयसम्म विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराएर वातावरणीय शिक्षा र व्यवहारिक सीप प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अभियानले वातावरण संरक्षणलाई सडक र विद्यालयमा मात्र सीमित नराखी ट्राफिक सचेतना, वृक्ष संरक्षण, नीति संवाद तथा जलवायु–मैत्री यातायातसँग समेत जोडेको छ। नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम, वन कार्यालय तथा जिल्ला समन्वय समितिको सहयोगमा वृक्ष संरक्षणसम्बन्धी तालिम र अभियान सञ्चालन गरिएको थियो ।

आर्थिक वर्ष २०८२/८३ को अवधिमा संस्थाले स्थानीय सरकार, विद्यालय, सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, स्वयंसेवक तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गरेको छ । अब वृक्षारोपणसँगै विरुवाको संरक्षण, गोडमेल, मलजल र दीर्घकालीन हरियाली व्यवस्थापनलाई प्राथमिकता दिइने बताइएको छ ।

त्यस्तै, प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सरसफाइ अभियानलाई सार्वजनिक स्थल, धार्मिक क्षेत्र, नदी–खोला, सडक तथा सामुदायिक क्षेत्रसम्म विस्तार गर्दै निरन्तरता दिने योजना छ । विद्यालयमा वातावरणीय शिक्षा, प्लास्टिक न्यूनीकरण, फोहोर वर्गीकरण, कम्पोस्ट मल निर्माण तथा व्यवहारिक वातावरण संरक्षण कार्यक्रमलाई अझ व्यापक बनाइने भएको छ ।

अभियानले वातावरणीय स्वास्थ्य, सरसफाइ, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा स्वास्थ्य सचेतनालाई वर्षभरिका विभिन्न अवसरमा समुदायसम्म पुर्‍याउने नीति अघि सारेको छ । यस अभियानको आगामी चुनौती भनेको कार्यक्रमको संख्या बढाउनु मात्र नभई त्यसबाट दिगो परिणाम, नागरिकको व्यवहारमा परिवर्तन र संस्थागत स्वामित्व निर्माण गर्नु रहेको छ ।

अभियानका अध्यक्ष मधु ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्का, सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्मा, सूचना अधिकारी डा. मनिषा कार्की, भक्तपुर अस्पतालका रेडियोलोजिष्ट डा. अम्बिका पोखरेल तथा जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले वातावरण, स्वास्थ्य र नागरिक जीवनबीचको अन्तरसम्बन्धबारे आ–आफ्नो क्षेत्रगत दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।