समाचार

घरको गेटमा हायस ठोक्किदा चारजना घाइते



काठमाडौँ, ६ भदौ । ललितपुरको लुभुमा एउटा माइक्रोबस (हायस) घरको गेटमा ठोक्किएर दुर्घटना हुँदा चारजना घाइते भएका छन् भने घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नम्बर प्लेट नलिइएको ‘अन टेस्ट’ हायस महालक्ष्मी नगरपालिका–८, लुभुको नरकट्टेमा अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका हुन् । हायस सुरुमा घरको गेटमा ठोक्किएको थियो । त्यसपछि गेटछेउमा पार्किङ गरी राखिएको बा१८च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको छ ।

घाइते हुनेमा हायसका चालक लुभुका २६ वर्षीय अखिल राजथला, महालक्ष्मी–७, चागाथलीका २५ वर्षीय आशिष महर्जन, मकवानपुर घर भई महालक्ष्मी–६, सानागाउँमा बस्दै आएकी १८ वर्षीया एलिसा लामा र लुभुकै २६ वर्षीय राज महर्जन छन् । राजथला र महर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार ललितपुरकै बीएन्डबी र किस्ट अस्पतालमा भइरहेको छ । हायसमा चारजना मात्र सवार रहेको पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पार्किङ गरी राखिएको कारमा सामान्य क्षति पुगेको छ ।