समाचार

भोटेकोशीमा बाढीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा अचानक बाढीको बहाव बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बिहानैदेखि भोटेकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको र नदीबाट अस्वाभाविक रूपमा पानी सुसाएको आवाज सुनिएको स्थानीय प्रशासनले जनाएको छ । नदीमा आकस्मिक रूपमा पानीको सतह अझै बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सुरक्षित रहन र विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

नदीमा आएको यो बहावसँगै तटीय क्षेत्रका गाउँबस्तीमा ठुलो त्रास फैलिएको छ । बाढी पूर्वानुमान शाखाले समेत बिहान ४:३० बजे नै प्रभावित क्षेत्रमा सूचना प्रसारित गर्दै सचेत रहन सन्देश प्रवाह गरेको थियो ।