काठमाडौँ, १६ भदौ । सुर्खेत रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड अलमोडा गएका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका–९, निवासी ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन् ।
वडाध्यक्ष प्रदीप बोहोराका अनुसार गएराति अविरल वर्षाका कारण उनीहरू बस्ने घर भत्किँदा पुरिएर मृत्यु भएको हो । बोहोराले भने, ‘उहाँहरू बस्ने घर कच्ची रहेछ, रातमा सुतिरहेका बेला भत्किएछ,’ ।
चक्रका ३ छोरा, श्रीमती, डिल्लीका १ छोरा २ छोरी र श्रीमती छन् । परिवारको रोजीरोटी र छोराछोरीको भविष्यका लागि भन्दै अलमोडा गएका थिए ।
‘उहाँहरूको आर्थिक अवस्था निकै कमजोर छ,’वडाध्यक्ष बोहोराले भने, ‘बालबालिका १६ वर्षभन्दा मुनिका छन्, अहिले सबै बिचल्लीमा परे ।’ उनका अनुसार मृतकको शव नेपालमै ल्याएर अन्त्येष्टि गर्ने चाहना परिवारको छ । त्यसका लागि वडा र पालिकाले सम्बन्धित निकायसँग पहल गरिरहेको बोहोराले बताए ।










प्रतिक्रिया दिनुहोस्