समाचार

१६२ किलो गाँजासहित दुई जना पक्राउ



काठमाडौँ, २३ भदौ । मकवानपुरको मनहरि गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो ।

भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

त्यसपछि कारभित्रको सिटमा प्लास्टिकले बेरेर लुकाई छिपाइ राखिएको अवस्थामा १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको छ । कार चालक चितवनको माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा पिकअप गाडीका चालकले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ । गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरिमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।