समाचार

नक्कली चुरोटसहित एक जना पक्राउ



काठमाडौँ, २५ भदौ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन् ।

नक्कली चुरोट बिक्री-वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला परेको हो । प्रहरीले भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ ।

बरामद चुरोट, भ्यान र पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।