काठमाडौँ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय दैलेखले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन् ।
प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सोधपुछ गर्दा दैलेखको आठबीस नगरपालिका–४ राकम खोलीबजार नजिक खोल्सामा स्वचालित हतियार लुकाइछिपाइ राखेको खुलेको थियो।
शाहीले दिएको बयानका आधारमा प्रहरी निरीक्षक कृष्णचन्द्रको कमाण्डमा खटिएको तीन जनाको टोलीले स्थानीय इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजतलास गरेको थियो । खोजीका क्रममा खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका बनाएर राखिएको अवस्थामा उक्त पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त पेस्तोल ‘MADE IN CZECHOSLOVAKIA’ लेखिएको १०५०२८ नम्बरको रहेको जनाएको छ । पेस्तोलमा प्रयोग हुने ९ एमएमको म्यागजिन थान–१ र ९ एमएममा प्रयोग हुने गोली राउण्ड ५ थान समेत बरामद गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्