समाचार

पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी



काठमाडौँ, ८ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।

आज बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ । यसैगरी बेनीघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ ।

प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो ।

कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।