समाचार

पहिरोले बीपी राजमार्ग अवरुद्ध



काठमाडौँ, ९ असोज । अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबिच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको थियाे ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।

कार्यालयको बैठकको निर्णयअनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।