समाचार

नारायणी नदीले खतराको तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  

महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह (९.० मिटर) मानिएकामा हाल जलसतह करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ । देवघाट बाढी मापन केन्द्रमा आज दिउँसो ११ बजे वरपर जलसतह बढेर अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । 

आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको छ।   यसैगरी, नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रही बढ्दो क्रममा छ। बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तह नजिक पुगेको छ।   

नारायणी नदीमा बहाव उच्च भएपछि चितवन र नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रहरूमा बाढीको उच्च जोखिम रहेको छ।