काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको छ ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताएका छन् ।
भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा पनि छलफल भएको थियो । सो क्रममा सञ्चारमन्त्री डा.तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताए ।
वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएका थिए । उनले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएका थिए । सो भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्