राजनीति

नागरिक सेवामा समर्पित भएर काम गर्न महानिरीक्षक कार्कीको निर्देशन



काठमाडौँ, १२ कार्तिक । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । 

प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए । प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुनसक्ने लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरी प्रहरी परिचालन गर्न निर्देशन दिए । 

यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ थियो । सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वतयारी र उच्च सतर्कतासहित प्रहरी परिचालन गर्न निर्देशन दिए ।