राजनीति

आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा राष्ट्रपति पौडेल र मन्त्री श्रेष्ठ सहभागी



काठमाडौँ, ५ मंसिर । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको काठमाडौंको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठको अन्तिम शनिबार राष्ट्रपति रामचन्द्र पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ सहभागी हुनुभएको छ।

राष्ट्रपति पौडेलको उपस्थितिमा मन्त्री श्रेष्ठसहितले विधिपूर्वक पूजा आराधना तथा दर्शन गर्नुभएको हो। मंसिर ३ गतेदेखि ५ गतेसम्म  धार्मिक अनुष्ठानअन्तर्गत शाक्य–बज्राचार्य गुरुज्यूहरूबाट विशेष शान्ति स्वस्ति पाठ, धार्मिक विधिअनुसार पूजा तथा अग्निहोम भइरहेको छ।

श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भइरहेको महायज्ञको मुख्य उद्देश्य विश्वशान्ति,  पृथ्वीमा प्राकृतिक विपत्ति नआओस्, लोककल्याण, सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गर्नु रहेको आयोजकले जनाएको छ। महायज्ञमा वज्रयान बौद्ध परम्पराअनुसार संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा, सुकुन्दा पूजा, ध्यान, जप, सूत्रपाठ तथा अग्निहोमलगायतका धार्मिक अनुष्ठान समावेश छन्। हालै पुनर्निर्माण गरिएको कनक चैत्य महाविहार परिसरमा आयोजना गरिएको यस धार्मिक कार्यक्रमले काठमाडौंको मौलिक बौद्ध परम्परा, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

काठमाडौंको प्राचीन बस्ती जनबहालमा अवस्थित कनक चैत्य महाविहार सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचित छ। सेतो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वर तथा करुणामयका रूपमा र हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ। वर्षा, सहकाल र लोककल्याणका देवताका रूपमा समेत पूजिने सेतो मच्छिन्द्रनाथको धार्मिक महत्त्वले नेपालमा विद्यमान धार्मिक सहिष्णुता, सहअस्तित्व र सांस्कृतिक एकताको विशिष्ट पहिचान प्रस्तुत गर्दछ।