समाचार

लागुऔषध र पेस्तोलसहित दुईजना पक्राउ



काठमाडौँ, १७ फागुन । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले तनहुँ बन्दीपुरका ५३ वर्षीय टंकबहादुर गुरुङ र सोही ठाउँका ७० वर्षीय दिलबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजना पछिल्लो समय काठमाडौँको बूढानीलकण्ठ र टोखा बस्दै आएका थिए । उनीहरूको साथबाट लागुऔषध एम्फेटामाइन ३०१ ग्राम ४९० मिलिग्राम र तराजु, एकथान पेस्तोल र म्यागजिन बरामद गरिएको छ ।

पक्राउ परेकामध्ये ७० वर्षीय गुरुङ यसअघि पनि लागुऔषध चरेस मुद्दामा ०७२ सालमा पक्राउ परेको र चार वर्ष जेल सजाय भुक्तान गरेर छुटेको खुलेको छ । उनीहरूमाथि ब्युरोको टोलीले थप अनुसन्धान थालेको छ ।