समाचार

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौँ, १९ फागुन । काठमाडौँको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

काठमाडौँ प्रहरी परिसरका अनुसार आज बिहान टिपरको ठक्करबाट स्कुटरमा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ जाँदै गरेको बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि आज बिहान ८:४५ बजे ठक्कर दिएको थियो । फोहोर बोक्ने सो टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको हो । भक्तपुरका लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थानीय हुन् । टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । टिपर फोहोर संकलनमा प्रयोग हुने गरेको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।