अर्थ

सागको मूल्य घट्यो



काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमा सबै प्रकारका सागको भाउमा उल्लेखनीय गिरावट आएको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै मेथीको सागको मूल्यमा ४० प्रतिशतको गिरावट आएको छ । १९ माघमा प्रतिकिलो औसत ७५ रुपैयाँ रहेको मेथीको साग १९ फागुनमा ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै पालुंगो सागको मूल्यमा ३३.३३ प्रतिशतले गिरावट आएको छ । १९ माघमा ५२.५० रहेको पालुंगो १९ फागुनमा ३५ रुपैयाँमा झरेको छ । चम्सुर सागको मूल्य पनि ३०.७७ प्रतिशतले घटेको छ । माघमा ६५ पर्ने चम्सुर साग अहिले ४५ रुपैयाँमा किन्न पाइन्छ ।

यसैगरी रायो सागको मूल्य २७.२७ प्रतिशत घटेर २७ बाट २० रुपैयाँमा आएको छ । तोरीको सागमा पनि २० प्रतिशतको गिरावट आएको छ । १९ माघमा प्रतिकिलो २५ रुपैयाँ रहेको तोरीको साग १९ फागुनमा २० रुपैयाँमा किनबेच भइरहेको छ ।