समाचार

प्रहरीमाथि आक्रमण हुँदा गोली चल्यो, प्रहरीसहित दुई जना घाइते



हेटौंडा, २८ फागुन । मकवानपुरको मनहरीमा प्रहरीमाथि सांघातिक आक्रमणपश्चात आत्मरक्षाका लागि प्रहरीले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन् ।

उक्त घटनामा प्रहरी सहायक निरीक्षक दिलवहादुर तामाङ र हेटौंडा उपमहानगरपालिका–१२ हातीगौडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । सहायक निरीक्षक तामाङमाथि सनिस तितुङलगायत युवकले वियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरेर घाइते बनाएका थिए भने प्रहरीले आत्मरक्षाका लागि चलाएको पेस्तोलको गोली लागेर तितुङ  घाइते भएका थिए ।

दुवै जना घाइतेको  हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीस्थित एक वृद्धाको घरमा लागु औषधसेवनको साथै झैझगडा गरिरहेका थियो ।

प्रहरी टोली पुगेर सोधपुछ गर्ने क्रममा तितुङलगायत युवकहरुले प्रसनि तामाङको दुवै हातमा बियरको बोतल, बन्चरो, र खुकुरी प्रहार गरी घाइते बनाएका थिए । तामाङले तत्काल आत्मरक्षाका पेस्तोलबाट १ राउण्ड फायर खोलेका थिए । 

उक्त घटनास्थलमा बुधबार राति घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका– १२ रमनटारका २४ वर्षीय  सन्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई पक्राउ गरेको थियो । पक्राउ परेका जिम्बा, थिङ र घाइते व्यक्ति विगतमा लागुऔषध, ज्यान मार्ने उद्योग र चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।