काठमाडौँ, ३० फागुन । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।
आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्यअनुसार पहिलो दिन नै चार हजार ६१७ जनालाई खोप लगाइएको छ ।
छुटेका बालबालिका र किशोरकिशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा रोगका शङ्कास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्यचौकीमा आइसोलेसन तयार गरेर उपचार समेत भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा संलग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाइने छ ।










प्रतिक्रिया दिनुहोस्