अर्थ

आठ लाख बढीको भन्सार छलीका सामान बरामद



बुटवल, ३० फागुन । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइएका ८ लाख ७० हजार ३ सय २० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रोहिणी गाउँपालिका–६ बोधबारबारबाट ५० हजार मूल्य बराबरको यूपी ५६ ए ३४८९ नम्बरको मोटरसाइकलसहित १४ वटा ब्रोइलर कुखुरा, सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट ८४ हजार बराबरका २३ पिस लेडिज सुट र किराना सामान आठ बोरा, बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट १३ हजार ६ सय बराबरको ३४ किलो सुपारी र सिद्धार्थनगर–२ केउटोलियाबाट १ लाख ४२ हजार ५ सय बराबरका २ सय ८५ पिस कुर्ता–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ । मायादेवी गाउँपालिका–८ उचिमीबाट ९७ हजार बराबरका ब्रा २ सय ६४ पिस, पेन्टी २ सय ७६ पिस र लुंगी २० पिस बरामद गरिएको छ ।

कोटहीमाई गाउँपालिका–३ कुडसरबाट ७५ हजार ९ सय २० बराबरको यूपी ५६ पी ९४४६ नम्बरको मोटरसाइकलसहित ११० किलो ब्रोइलर कुखुरा तथा रोहिणी गाउँपालिका–६ ओरहवाबाट ७० हजार बराबरको यूपी १० बीएस २३२७ नम्बरको मोटरसाइकलसहित १८० किलो ब्रोइलर कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ । 

मायादेवी गाउँपालिका–५ पसाहवाबाट २० हजार बराबरको २ सय किलो काँचो केराउ र लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट ७ हजार बराबरको १ सय किलो काँचो केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । 

त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ मेउडिहवाबाट १ लाख ४२ हजार बराबरका लेडिज सुट ३५ पिस, साइकलका पार्टपुर्जा एक झोला, कीटनाशक औषधि १० पिस तथा ७ सय ५० किलो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।