काठमाडौँ, ८ चैत । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व सुरु भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।
चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी कामेश्वर पाठकले बताए । पण्डित पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।










प्रतिक्रिया दिनुहोस्