समाचार

निःशुल्क खानेपानी धारा जडान



काठमाडौँ, ८ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो ।

बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए । अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए ।