काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् ।
आज निर्वाचन आयोग नेपालद्वारा आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ ।
सो अवसरमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा हार्दिक आह्वान पनि गरे ।









प्रतिक्रिया दिनुहोस्