समाचार

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात



मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ ।

शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ । हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो ।

माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।

स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ ।