समाचार

जुवा खालबाट १९ जना पक्राउ



काठमाडौँ, २२ चैत । प्रहरीले भक्तपुरमा सञ्चालित तीनवटा जुवा खालमा छापा मार्दा १९ जना जुवाडेह पक्राउ परेका छन् ।

शनिवार साँझ जुवा खालमा छापा मारेर आरोपीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले बताए । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइनमा सञ्चालित जुवा खालबाट २० हजार नगद सहित ५ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए । पक्राउ पर्नेमा बुद्धि बहादुर तामाङ, राजेश न्हेमाफुकी, सुमन ग्वाछा, ननि शाही र कुमार श्रेष्ठ छन् । 

चाँगुनारायण नगरपालिका–८ स्थित सुडालमा रहेको दीपक प्रसाद तिमल्सिनाको घरमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुवा खाल सञ्चालक दीपक तिमल्सिना, श्याम खड्का, किरण केसी, राजेश केसी, अनिक घोरासाइनी, सुदर्शन थापा र दिपेन्द्र सिलवाल छन् । प्रहरीले जुवा खालबाट २७ हजार नगद बरामद गरेको छ ।

सुडालको चापाकोटमा सञ्चालित जुवा खालबाट २३ हजार नगद सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । चापाकोटबाट पक्राउ पर्नेमा सानुकाजी खत्री, विष्णु श्रेष्ठ, कृष्ण प्रसाद रिजाल, रबिन्द्र खड्का, माधव गोतामे, पुजन रञ्जितकार र विक्रम दाहाल छन् ।