समाचार

जेलबाट भागेका युवक स्कुटर चोरी गर्दा पक्राउ



काठमाडौँ, २५ चैत । बलात्कार मुद्दामा कैद भुक्तान गरेको अवस्थामा जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका एकजना युवक चोरी गर्दा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको तुवाचुङ जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेश पुरी छन् । उनलाई काठमाडौँको तीनकुनेबाट पक्राउ गरेर थप अनुसन्धानको लागि प्रहरी वृत्त थिमीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

२०८२ साउन १९ मा बलात्कार मुद्दामा जेल परेका उनी भदौ २४ मा कारागार कार्यालय डिल्लीबजारबाट भागेका थिए । चैत २ मा अनलाइनमा बेच्न भनेर राखेको स्कुटर किन्छु भनेर झिकाएर उनले बागमती प्रदेश–०२–०४३ प ५३७६ नम्बरको स्कुटर टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय थिमी शाखाको टोलीले चैत २२ मा उनलाई तीनकुननेबाट पक्राउ गरेको हो । उनले लिएर भागेको स्कुटर प्रहरीले बरामद गरेको छ । 

यसअघि उनी २०७७ मा बहुविवाह मुद्दामा २०७७ मा सुनसरीका चक्रघट्टी र २०७३ मा चोरी मुद्दामा खोटाङबाट पक्राउ परेका थिए । बलात्कार मुद्दामा तेस्रो पटक पक्राउ परेका आरोपी अहिले चौथो पटक चोरीमा पक्राउ परेका हुन् । ऊनीमाथि प्रहरी वृत्त थिमीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।