काठमाडौँ, २ बैशाख । काठमाडौँ उपत्यकामा हिजोदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ ।
काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएको यस सेवाले रातिको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन भएका छन् ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट रहेको छ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने महानगरले जनाएको छ ।
थानकोटबाट सतुङ्गल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन भएको महानगरले जानकारी दिएको छ ।
हाल सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्