अर्थ

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै: बजेट प्रस्तुत हुने



काठमाडौँ, १५ जेठ । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दैछ ।

दिउँसो ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

बजेट निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।