काठमाडौँ, १५ जेठ । कोटेश्वर हुँदै बल्खुतर्फ जाँदै गरेको गुडिरहेको बसभित्रै एक युवतीको सुनको सिक्री लुट्ने चार जना लुटेरालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत जेठ १३ गते बेलुका बसभित्रै युवतीको घाँटीमा लगाएको सुनको सिक्री चुँडालेर लुटपाट भएको सूचना प्राप्त हुनासाथ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहतको प्रहरी प्रभाग सानेपाबाट प्रहरी टोली परिचालित भएको थियो । प्रहरी टोलीले ललितपुरको सानेपास्थित रिङरोड सडक खण्डमा उक्त बसलाई रोकेर सवार यात्रीहरूको खानतलासी गरेको थियो ।
त्यसक्रममा लुटिएको सुनको सिक्रीसहित लुटपाटमा संलग्न चार जनालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका व्यक्तिहरूको पुराना अभिलेख हेर्दा उनीहरू यसभन्दा अगाडि पनि चोरी मुद्दामा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपालञ्चोक जिल्ला लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको बौद्ध बस्ने २९ वर्षीय जनक तामाङ र सोही ठाउँ स्थायी घर भई हाल कलङ्की बस्ने ३० वर्षीय साइमन भन्ने मन कुमार तामाङ रहेका छन्। यसैगरी ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल हरिसिद्धी बस्ने २५ वर्षीय उमेश मुक्तान र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल हरिहरभवन बस्ने ३० वर्षीय अर्जुन तामाङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट लुटपाट भएको १ तोला ९ लाल परिमाणको एक थान सुनको सिक्री बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्