काठमाडौँ, २८ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् ।
आज सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मानवीय र प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या नगर्न आग्रह गरे ।
उनले भने, ‘यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ, म त्यसलाई पूर्ण रूपमा स्वागत गर्छु । मन्त्रालय र भन्सारको छविका लागि पनि यो आवश्यक हुन सक्छ।’
मन्त्री वाग्लेले जेठ १५ गतेको बजेटका लागि कर्मचारी साथीहरू अघिल्लो रात नसुती बिहान ४–५ बजेसम्म अन्तिम मस्यौदा तयार गर्दा साना प्राविधिक त्रुटिहरू हुनु स्वाभाविक भएको बताए । उनले गत वर्ष ७३ वटा दरहरू परिवर्तन गरिएको स्मरण गराउँदै यसपालि भन्सारतर्फ एउटा मात्र दर र सुनको दरमा केही हेरफेर भएको स्पष्ट पारे ।
विद्युतीय सवारी साधन (ईभी) को करका बारेमा मन्त्री वाग्लेले मध्यमवर्गको आकाङ्क्षालाई सम्बोधन गर्न ५० लाखसम्मको गाडीलाई विलासी नमानिएको बताए । सडक निर्माण दस्तुर ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरिएको विषयमा पनि उनले स्पष्ट पारे बजेट आउनुअघि गाडीहरू भन्सार पास हुने प्रक्रियालाई व्यापारिक जोखिम भन्दै यसमा मन्त्रालयको कुनै भूमिका नहुने उनले दाबी गरे।










प्रतिक्रिया दिनुहोस्