भक्तपुर, १९ असार । सूर्यविनायक वडा नं. ४ मा केन्द्रीय कार्यालयल रहेको नेपाल फुलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रल युरोपियन युनियनद्वारा सम्मानित भएको छ ।
युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तरगत निजी फोहोरमैला उद्यम तथा अपसाइकलिङका लागि उत्कृष्ट छ भित्र पर्न सफल भई रु २० लाख नगद अनुदानसहित प्रमाणपत्रद्वारा सम्मानित भएको हो ।
संस्थाका अध्यक्ष आनन्द मिश्र तथा युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोद्वारा हस्ताक्षरित प्रशंसापत्रमा भनिएको छ, ‘तपाईले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, चक्रिय अर्थतन्त्र र वातावरणीय दिगोपनको लागि गर्नुभएको अनुकरणीय र प्रेरणादायी कार्यको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा गरेका छौं ।’
उक्त नगद अनुदानबाट संस्थाको लागि आवश्यक सामग्री तथा भौतिक संरचना निर्माण गरिएको व्यवस्थापन केदार घिमिरेले बताउनुभयो । ‘इयुले हाम्रो संस्थालाई नगद सहयोग सहित सम्मान गरेका छ,’ उहाँले भन्नुभयो, ‘प्राप्त नगद रकमले संस्थाको भौतिक पूर्वाधारलाई व्यवस्थित गर्न प्रयोग गरेका छौं, जसले गर्दा भौतिक संरचनाको साथमा कर्मचारीलाई निशुल्क बासस्थानको लागि अस्थायी संरचना निर्माण गरी कर्मचारीलाई प्रोत्साहन गरेका छौं ।’
फुलवारीले भक्तपुरसहित काठमाडौँ उपत्यकामा हाल करिव १३ हजारभन्दा बढि घरधुरीबाट फोहोर संकलन गरी स्वच्छ वातावरण, समृद्ध सहर निर्माण गर्ने महत्वपूर्ण कार्यहरु गरिरहेको छ । संवैधानिक रुपमा स्थानीय तहले फोहोर व्यवस्थापन गर्नुपर्ने हुन्छ । सोही अनुसार स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा फोहोर संकलन गर्दै फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्ने अभियान चलाई नागरिकको स्वच्छ तरिकाले बाच्न पाउने अधिकारलाई सुक्षित गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्