अर्थ

६ बुँदे सहमतिसँगै कर्णालीको बजेट पारित



सुर्खेत, २० असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतका आधारमा पारित गरेको हो । बजेट प्रस्तुत भएदेखि नै विभिन्न विषयमा विवाद उत्पन्न भएको थियो । कार्य विभाजन नियमावलीविपरीत मन्त्रीहरूले योजना समावेश गरेको, नेताका नाममा प्रतिष्ठान राखिएको लगायत विषयमा प्रतिपक्षले विरोध जनाएको थियो । विवादकै बीच शुक्रबार सत्ता पक्ष र प्रतिपक्षबीच ६ बुँदे सहमति भएपछि बजेट पारित गर्ने वातावरण बनेको हो ।

पारित बजेटअनुसार आगामी आर्थिक वर्षका लागि विनियोजित कुल ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँमध्ये चालु खर्चतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ अर्थात् २४.३१ प्रतिशत र पुँजीगत खर्चतर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ अर्थात् ५५.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

बजेट पारित गर्दा कार्य विभाजन नियमावलीविपरीत मन्त्रीहरूले समावेश गरेका योजना तथा नेताका नाममा प्रस्ताव गरिएका प्रतिष्ठानलगायत कार्यक्रम कार्यान्वयन नगर्ने सहमति गरिएको छ । सोही सहमतिका आधारमा प्रदेशसभाले बजेट अनुमोदन गरेको हो ।