राजनीति

अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका



काठमाडौँ, २१ असार । काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका लागि १० जना उम्मेदवार छनोट गर्ने तयारी गरेको छ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्तिको तयारी गरेको हो। आयोगका सचिवालय प्रमुख नवराज थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोधवृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्तावसम्बन्धी प्रस्तुतीकरण सत्र सञ्चालन गरिरहेको छ। महानगरपालिकाले गएको पुस १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्ताहरूका लागि प्रस्ताव आह्वान गरेको थियो। अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम र आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको छ ।

अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान गरिनेछ भने यस अवधिभित्र आवेदकले चार पटक प्रस्तुतीकरण गर्नुपर्नेछ। अनुसन्धातालाई करसहित १ लाख ५० हजार रूपैयाँ उपलब्ध गराइनेछ, जसबाट अनुसन्धान र लेखनलगायतका काम गर्नुपर्नेछ। यो रकम चार किस्तामा भुक्तानी हुनेछ। अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतीकरण र प्रतिवेदन पेस भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेस गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण तथा पेस गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी गरिनेछ ।

यस वर्षका लागि सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, महानगरको पहिचानमा सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, आर्थिक समृद्धिका लागि नवप्रवर्तन, र सहरी यातायात प्रणालीको पूर्वाधारलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरिएको छ। त्यस्तै वातावरण, जलवायु र उत्थानशीलता, सामाजिक समावेशीकरण र समता, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा, स्वास्थ्य र कल्याणका साथै तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई पनि शोध विषय बनाइएको छ।