काठमाडौँ, २१ असार। सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्सको सामना गर्नेछ ।
विश्वकपको नकआउट चरणमा कुनै पनि अफ्रिकी देशले हात पारेको कुल ८ जितमध्ये ४ जित मोरक्को एक्लैको नाममा दर्ता भएको छ । क्यामरुन, सेनेगल, घाना र इजिप्टको नाममा समान १–१ जित छ । यस पराजयसँगै प्रतियोगिताका तीन सह-आयोजक देशमध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ ।
फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण रोमाञ्चक बन्दै जाँदा अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै यी दुई टोलीबीचको भेट निश्चित भएको हो ।










प्रतिक्रिया दिनुहोस्