काठमाडौँ, २७ असार । खोटाङमा खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीनजना पक्राउ परेका छन् ।
घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् ।
तीलकबहादुरलाई घटनालगत्तै पक्राउ गरिएको थियो । श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको हो । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैँ फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दाअन्तरगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।










प्रतिक्रिया दिनुहोस्