समाचार

ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ



काठमाडौँ, २८ असार । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौँ महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन् ।

उनीहरूको साथबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुल, बा.५७ प. २४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।