समाचार

आजको मौसम



काठमाडौँ, ३२ असार । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभागनजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही स्थानमा दिउँसो र राति नै भारी वर्षाको पूर्वानुमान रहेको छ । 

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग  तथा लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस, कोसी र वाग्मती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।