समाचार

कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ



काठमाडौँ, ६ साउन । मोरङको विराटनगर महानगरपालिका –१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति १२:१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर –१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा खैरो हिरोइन ३ ग्राम ०७ मिलिग्राम बरामद गरेको हो ।

बरामद भएको कटुवा पेस्तोल र लागुऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।