समाचार

खैरो हेरोइनसहित दुई महिला पक्राउ



काठमाडौँ, ७ साउन । बाँकेको नेपालगन्जबाट प्रहरीले ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइनसहित दुई जना महिलालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बाट लागु औषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १ ठेगाना भएकी ३३ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ठेगाना भएकी २४ वर्षीया निशा मगर रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम अवैध लागु औषध खैरो हेरोइन र ३ थान मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।