राजनीति

कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद भदौ १९ सम्म



काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका नेता कार्यकर्तालाई लक्षित गर्दै भदौ १५ देखि १९ गतेसम्मका लागि समय थप गरेको छ ।

तर, इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले भने पार्टी विवादका सम्बन्धमा सहमति नभई सदस्यता अद्यावधिक नगर्ने बताएको छ । 

सदस्यता व्यवस्थापन समितिको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, पार्टीको वृहत्तर हित, एकता र साथीहरूको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनुभएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ गतेदेखि १९ गते सम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक र नवीकरण गर्न सकिने गरी समयावधि थप गर्ने निर्णय गरेको छ ।’

इतर समूहले भने ठोस सहमति नभई उक्त प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेको छ । प्रक्रियागत सुधार र सहमति बिना समय थप गर्नुको कुनै अर्थ नभएको समूहको भनाइ छ ।