काठमाडौँ, २३ भदौ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर सडक मर्मतसम्भारका लागि बन्द गर्न लागिएको जनाएको हो ।
प्रशासनका अनुसार आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
पृथ्वी राजमार्गमा बाढीका कारण पक्की पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा उक्त सडक प्रयोग हुँदै आएको थियो । प्रशासनले सो अवधिमा धादिङबेँसी–सुनौलो बजार–भोर्ले-कोसीखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नसमेत अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्