समाचार

१४ सय किलो गाँजासहित एक जना पक्राउ



काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका- ६ स्थित कटैया गाउँमा भोला सदाको घर खानतलासी गरेर लागुऔषध गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो । 

सदाले घरमा ठुलो परिमाणको गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले निजको घरबाट ५६ वटा बोरामा प्याक गरिएको अवस्थामा करिब १४ सय किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । 

गाँजासहित सदालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सप्तरी लगिएको छ । सीमावर्ती गाउँ भएकोले उक्त गाँजा भारततर्फ निकासी गर्न लागिएको आशङ्का गरिएको छ ।