अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले (नेपाल)को घटनाले त्यसको वास्तविक रूप देखिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई मंगलबार बिहान सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको जोखिम अहिले वास्तविक भएर आएको र त्यो संसारले देखेको पनि उनले बताए । जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको पनि उनले बताए । तर उनीहरुले न्याय नपाएको पनि उनले बताए ।
उनले भने, ‘तीन वर्षअघि, नेपालका हिमालहरूबाट मैले विश्वको छानो खसिरहेको चेतावनी दिएको थिएँ । अत्यन्तै तीव्र गतिमा हिउँ पग्लिरहेको विषयमा खतराको घण्टी बजाएको थिएँ । कतिपयले यसलाई खतराहरूबारे बढाइचढाइ गरिएको भनेर खारेज गरे । तर अहिलेका दु:खद घटना (नेपालको)हरूले के देखाएको छ भने धेरैले सोचेभन्दा चाँडै यसका कडा प्रहारहरू देखिइरहेका छन् । ती अझ व्यापक रूपमा फैलिरहेका छन् । जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ ।’
जलवायु परिवर्तनका असरसँग जुध्न पर्याप्त आर्थिक स्रोत अति नै कम भएको पनि उनले बताए । जलवायु परिवर्तनसम्बन्धी हानि तथा नोक्सानी कोषमा लाजमर्दो रूपमा कम रकम भएको उनको भनाइ थियो । जलवायु परिवर्तनको जोखिम सबैभन्दा कमजोरहरूलाई सबैभन्दा धेरै भएको उनको तर्क थियो ।
उनले भने, ‘त्यसमा लाजमर्दो रुपमा कम पैसा छ । यसमा पर्याप्त रकम हुनुपर्छ, अब थप लुटपाट शोषण हुन हुँदैन । यहाँ एउटा पुस्ताले अर्को पुस्ताको भविष्य उपभोग गरिरहेको छ, एउटा समूहले नाफा कमाइरहेको छ । जलवायु परिवर्तनमा कम जिम्मेवारहरूले सबैभन्दा पहिले र सबैभन्दा खराब समस्या सामाना गरिरहेका छन् ।’










प्रतिक्रिया दिनुहोस्