काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ ।
कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान त्यहाँ आउने गरेका छन् ।
बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ ।
धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै खसीबोका पालेका छन् । यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोडबराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्