राजनीति

गण्डकीका मुख्यमन्त्रीले गराए संघ सरकारको ध्यानाकर्षण



पोखरा, १७ असोज । बाढी र पहिरोका कारण गण्डकीमा भएका क्षतिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारको ध्यानाकर्षण गराएका छन् । असोज ९ गतेदेखि गएको बाढी पहिरो र त्यसले पुर्याएको क्षतिपछिको उद्धार, राहत र पुनः निर्माणका लागि उनले आग्रह गरेका हुन् । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३० जनाको ज्यान गएको छ । दर्जनौं सडक, पुल, विद्यालय, सरकारी भवन र सयौँ निजी आवासमा क्षति पुगेको छ ।

पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेट गरी विपद् व्यवस्थापन र प्रदेशका दीर्घकालीन नीतिगत समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् । भेटका क्रममा मुख्यमन्त्री पाण्डेले विपद्बाट गण्डकीका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायतका जिल्लामा पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग माग गरे ।

विशेषगरी बेनी–जोमसोम–कोरला, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बेँसीसहर–मनाङ सडकखण्ड क्षतविक्षत भएको भन्दै उनले चाडपर्व नजिकिएकाले ती सडक तत्काल मर्मत गर्नुपर्ने बताए ।

प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्रका वैकल्पिक र प्रादेशिक सडक खुलाउन काम थालिसकेको उनले जानकारी दिए । संघ मातहतका रणनीतिक सडक र ठूला पुलहरूको मर्मतलाई तीव्रता दिन भौतिक पूर्वाधार मन्त्री लम्सालसँग आग्रह गरे । बाढीपहिरोबाट अतिप्रभावित स्थानीय तहहरूलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी विशेष राहत तथा पुनस्र्थापना प्याकेज ल्याउनुपर्ने उनको माग थियो ।

मुख्यमन्त्री पाण्डेले उत्तरी छिमेकी चीनसँगको व्यापारलाई निरन्तरता दिन मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक र प्रभावकारी मार्गका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिए ।