काठमाडौँ, १ कार्तिक । पोखरामा चोरी भएको एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८१ असोज ३० गते राति करिब १०:०० बजे पोखरा महानगरपालिका वडा नं. १६ सीतापाईलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएको थियो ।
सूचनालगत्तै खोजतलास सुरु गरेको प्रहरी चौकी छोरेपाटनको टोलीले राति ११:०० बजे पोखरा महानगरपालिका वडा नं. १७ सिमलटुडाबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई फेला पारेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चलाइरहेका पोखरा महानगरपालिका वडा नं. ७ मासबार बस्ने ३१ वर्षीय सागर गुरुङ रहेका छन् । यस्तै पछाडि सवार लमजुङ बेशिसहर नगरपालिका वडा नं. ७ मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्