काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८:४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १०:२६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।
घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु-बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ । दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्