काठमाडौँ, १० कार्तिक ।यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ ।
मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा (पोली) र गमला समेत जोड्दा यस वर्षको तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख पुग्ने प्रक्षेपण छ ।
फ्यानको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै ४५ लाख वटा सयपत्री फूलको माला खपत हुनेछ, जसको थोक मूल्य औसत ९० रुपैयाँका दरले ४० करोड ५० लाख पर्न आउँछ ।
त्यस्तै ४५ रुपैयाँ औसत मूल्य रहेको मखमली फूलको ६ लाख मालाबाट २ करोड ७० लाख, १ हजार २ सय रुपैयाँ औसत मूल्य रहेको गोदावरी फूलको २० हजार मालाबाट २ करोड ४० लाख र ४ सय रुपैयाँ औसत मूल्य रहेको विभिन्न फूल मिसाइएको (मिक्स) ६० हजार मालाबाट २ करोड ४० लाखको कारोबार हुने अनुमान छ । मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा (प्रतिथुँगा ३० रुपैयाँ) बाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमला (प्रतिगमला ७५ रुपैयाँ) बाट ६ करोडको कारोबार हुने फ्यानले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्